काठमाडौँ, १३ भदौ । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार दर खाने तयारीमा छन् ।
भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ ।
दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् ।
भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए ।






