काठमाडौं, ६ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ। सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा पुगेर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी दर्ता प्रक्रिया सञ्चालन गरिरहेको जनाएको छ। आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई कुनै पनि तडकभडक नगरी शान्त र मर्यादित रूपमा निर्वाचन कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।
भीडभाड व्यवस्थापन र दर्ता प्रक्रिया सहज बनाउन प्रमुख दल तथा उम्मेदवारका लागि समयसमेत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुने व्यवस्था छ।
अधिकांश दलहरूले उम्मेदवार छनोट गरिसकेको जनाएका छन्। एमालेले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको बताएको छ भने नेपाली कांग्रेस केही क्षेत्रमा अझै छनोट प्रक्रियामा रहेको जनाएको छ। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले आफ्ना उम्मेदवारलाई आधिकारिक पत्र वितरण गरिसकेका छन्।
मनोनयन दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा आयोगले तोकेका अन्य आवश्यक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।







