काठमाडौं, ११ असार । आज निर्जला एकादशी (तुलसीको दल राख्ने) दिन रहेको छ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ ।
आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई आत्मसंयम, अनुशासन, स्वास्थ्य र सांस्कृतिक जीवनशैलीसँग समेत जोडिएको छ ।
आज पूर्ण रूपले उपवास बसी जल वा सर्वतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधिनी एकादशीको दिन भगवान् विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ ।





