Logo

आज पनि पानी पर्ने



फायल तस्बिर

काठमाडौँ, ८ चैत । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बुधवार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर निरन्तर वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिए । उनले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताए । “आज काठमाडौँमा  दिनभर नै वर्षा भएको छ, आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन तर आजको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।
मौसमविद् अधिकारीले आज बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे । उनका अनुसार बुधवार राति पनि देशका विभिन्न स्थानमा भएको वर्षा भन्दा बिहीबार कम वर्षा हुनेछ ।
महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यस्तै सिमरा र ओखलढुङ्गामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा आठ दशमलव पाँच, धनकुटा र जनकपुरमा पनि समान पाँच मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण अहिले  कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्सहित  छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित  छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्