Logo

आज पहाडी जिल्लाहरूमा होली मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त



काठमाडौँ, २९ फागुन । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ ।

पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको थियो ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

राष्ट्रपति पौडेलद्वारा होलीको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गनुैभएको छ ।

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधताबीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।

होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्