काठमाडौं, १८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ। निर्वाचन आयोग नेपाल का अनुसार सोमबार राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म निर्वाचनसम्बन्धी औपचारिक प्रचारप्रसारमा पूर्ण रोक लगाइएको हो।
आयोगको कार्यतालिकाअनुसार मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि सुरु हुने मौन अवधि मतदान केन्द्र पूर्ण रूपमा बन्द नभएसम्म कायम रहनेछ। यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा उनीहरूका प्रतिनिधिले कुनै पनि माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन्।
के गर्न पाइँदैन ?
मौन अवधिमा चुनावी सभा, जुलुस, सम्मेलन, गोष्ठी वा कार्यशाला जस्ता औपचारिक कार्यक्रम गर्न निषेध गरिएको छ। भौतिक उपस्थितिमा मात्र नभई सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट मत माग्ने वा प्रचार गर्ने कार्यसमेत प्रतिबन्धित छ।
त्यसैगरी, मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका दल वा उम्मेदवारका ब्यानर, झण्डा तथा पोस्टरजस्ता प्रचार सामग्री आजै हटाउनुपर्ने प्रावधान छ। मतदातालाई स्वविवेकले निर्णय गर्ने वातावरण मिलाउन यो समयलाई अत्यन्त संवेदनशील मानिएको छ।
उल्लङ्घन गरे उम्मेदवारी खारेज हुन सक्ने
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको कडा पालना गर्न सरोकारवालालाई सचेत गराउनुभएको छ। उहाँका अनुसार मौन अवधिको आचारसंहिता विपरीत गतिविधि गरेको पाइएमा सम्बन्धित उम्मेदवारको मनोनयनसमेत रद्द हुन सक्ने कानुनी व्यवस्था छ।
आयोगले मौन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न विशेष अनुगमन टोली परिचालन गरेको जनाएको छ। सबै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले पुनः आह्वान गरेको छ।







