Logo

आज मध्य राति खण्डग्रास चन्द्रग्रहण



फायल तस्बिर

काठमाडौँ, ११ कात्तिक । आज शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । आज राति ११ः ४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १ः२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १ः५९ बजे हुने छ भने आइतबार बिहान २ः३८ बजे ढाक्न छोड्ने छ । बिहान ४ः१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।

खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देखिने छ । बिपी कोइराला मेमोरियल प्लानिटोरियम, अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भागबाट तथा अस्ट्रेलिया र उत्तर एवं दक्षिण अमेरिकाका केही भागबाट देखिने छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार सघन छायाले ढाक्ने अवधि एक घण्टा १८ मिनेटको र विरल छायाले ढाक्ने अवधि चार घण्टा २६ मिनेट हुने छ ।

उनले चन्द्रग्रहणलाई नाङ्गो आँखाले हेर्न सकिने र यसले कुनै नकारात्मक असर नगर्ने बताए । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी तथा चन्द्रमा एउटै सरल रेखामा रहँदा पृथ्वी बिचमा परेका बेला पृथ्वीको छाया चन्द्रमामा परी पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो पूर्णिमाको राति पर्दछ ।

प्रतिक्रिया दिनुहोस्