काठमाडौँ, १८ असोज । आश्विन शुक्ल नवमी मंगलबार महानवमी पर्व मनाइँदैछ ।
महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् ।
चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ ।
अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ । पशुबलि नदिने वा शाकाहारीले भने कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन् ।
लौकिक रूपमा यो दिन बाहन अर्थात् आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ । शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ। यो दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ ।
नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ ।
नौ दिनसम्मको नवरात्र अनुष्ठान यो तिथि (महानवमी) मा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरेको घडाको जल अभिषेक गरी देवीको प्रसाद फूल अक्षता तथा जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ ।






