काठमाडौँ, ३ पुस । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रले भदौ १६ बाट सुरु गरेको अभियान पुस १६ मा सकिँदैछ । पदाधिकारी बैठक पछि केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।
आगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ मा निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ पदमा निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।
सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गरेर जाने सहमति भएको छ ।







