Logo

आज माघे सङ्क्रान्ति: उत्तरायणको सुरुआतसँगै देशभर स्नान, दान र मेलाको रौनक



काठमाडौं, १ माघ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा माघ १ गते मकर (माघे) सङ्क्रान्ति मनाइँदै छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात क्रमशः छोटो हुँदै जान्छ। धार्मिक मान्यताअनुसार उत्तरायणको पहिलो दिन स्नान, दान, जप, तप र ध्यानलाई विशेष पुण्यदायी मानिन्छ।

यस अवसरमा देवघाट, त्रिवेणी, कालीगण्डकी, त्रिशूली, रिडी, वाग्मती, इन्द्रावतीलगायतका तीर्थस्थलमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड लागेको छ। यी क्षेत्रमा माघे सङ्क्रान्ति विशेष मेला पनि आयोजना गरिएको छ।

तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ पर्वका रूपमा मनाइन्छ। वर्षभर नियमित स्नान गर्न कठिन हुने स्थानमा बसोबास गर्ने तराईवासीले आजको दिन अनिवार्य रूपमा स्नान गर्ने परम्परा पालना गर्छन्। धार्मिक विश्वासअनुसार आज तिल दान गर्दा ठूलो पुण्य प्राप्त हुने मान्यता छ।

माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल, खिचडी, पालुङ्गो खाने चलन छ। यी परिकार जाडोयाममा शरीरलाई न्यानो राख्ने र स्वास्थ्यका दृष्टिले लाभदायी हुने आयुर्वेदिक मान्यता छ। तिलको तेलले शरीरमा मालिस गर्दा नाडी, स्नायु र हड्डी सुदृढ हुने विश्वास गरिन्छ।

सूर्य उत्तरायणपछिको मृत्युलाई शुभ मानिने धार्मिक धारणा रहँदै आएको छ। यही कारण महाभारतका पात्र भीष्मले सूर्य उत्तरायण भएपछि मात्र शरीर त्यागेको विश्वास गरिन्छ। माघ महिनामा माघमाहात्म्य र श्री स्वस्थानी व्रतकथाको श्रवण–पाठलाई पनि विशेष महत्व दिइन्छ।

यसैबीच, माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज राष्ट्रिय कृषि जैविक विविधता दिवससमेत मनाउँदै छ। कन्दमूल बालीको महत्व उजागर गर्न गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्