काठमाडौँ, ११ असोज । आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाउन लागिएको हो ।
पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ‘ललित कार्निभल’को आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह-आयोजनामा आज सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो ।
हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाउन लागिएको हो ।
नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ । भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, ऐतिहासिक, धार्मिक पर्यटकीय गन्तव्य तथा पुरातात्विक सम्पदाको धनी नेपालमा पर्यटन क्षेत्रको सम्भावना उच्च छ । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णय समेत गरेको छ । त्यस्तै बागमती प्रदेश सरकारले २०७९/८० लाई घुमफिर वर्षका रुपमा मनाउँदैछ । घुमफिर वर्षको आज चितवनको सौराहाबाट सुरुवात गरिदैछ ।







