काठमाडौं, ९ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। विद्याकी देवी सरस्वतीको पूजा गर्ने यस दिनलाई वसन्त ऋतुको आगमनको संकेतका रूपमा वसन्त पञ्चमी पनि भनिन्छ।
परम्पराअनुसार आज सरस्वतीको पूजा गर्दा ज्ञान, बुद्धि र विवेक वृद्धि हुने विश्वास गरिन्छ। त्यसैले देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुको उल्लेख्य भीड लागेको छ।
विद्यालय जाने उमेर पुगेका बालबालिकालाई आजकै दिन अक्षरारम्भ गराउने चलन रहेको छ। आजदेखि विद्यालय पठाउँदा बालबालिकामा ज्ञान र स्मरणशक्ति बढ्ने जनविश्वास छ।
श्रीपञ्चमीलाई शुभ दिन मानिने भएकाले आज विवाह, व्रतबन्धलगायत विभिन्न सामाजिक तथा धार्मिक कार्यका लागि साइत हेर्नु नपर्ने परम्परा पनि छ। यस दिन बालबालिकाको नाक र कान छेड्ने संस्कारसमेत गर्ने चलन रहेको छ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा बिहानैदेखि पूजा–अर्चना र भक्तजनको आवागमन बढेको छ। पर्वले शैक्षिक, सांस्कृतिक र धार्मिक वातावरणलाई थप उल्लासमय बनाएको छ।







