काठमाडौं, २५ चैत । सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारमा प्रतिनिधिसभाको बैठक अपराह्न १ बजेका लागि तय गरिएको छ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यसूची रहेको छ।
यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। सो विधेयक अघि बढाउन अनुमति माग्ने प्रस्तावसमेत पेश गरिने सम्भावित कार्यक्रम रहेको छ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पनि वाचन गरेर सुनाउनेछन्।
उता, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्नेछ। उक्त बैठकमा पनि प्रधानमन्त्री शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।






