Logo

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा



काठमाडौं, १८ फागुन । फागुपूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा एकआपसमा रङ, अबिर र लोला खेल्दै आपसी मेलमिलाप र सद्भाव साटासाट गर्ने परम्परा रहिआएको छ।

पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलनअनुसार यस वर्ष त्यहाँ मङ्गलबार उत्सव मनाइँदै छ र सोही दिन सार्वजनिक बिदा दिइएको छ।

वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व प्राचीनकालदेखि चलिआएको सांस्कृतिक परम्परा हो। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो शैलीमा मनाइने यो पर्व पछिल्लो समय प्रहरीको सक्रियतासँगै सभ्य बन्दै गएको छ। सडकमा हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभग अन्त्य भएको छ भने फोहर पानी छ्याप्ने गतिविधि पनि घटेको देखिन्छ।

यस वर्ष फागुको अघिल्लो दिन राजधानीका सडकमा सहज आवतजावत देखिएको छ। विशेषगरी युवतीहरूलाई लक्षित गरी गरिने दुर्व्यवहार कम भएको स्थानीयले बताएका छन्।

काठमाडौंको वसन्तपुरमा गाडिएको चिर आज विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वासका साथ मानिसहरूले लिने गर्छन्। चिरको खरानीलाई अनिष्ट टार्ने प्रतीकका रूपमा टीका लगाउने चलन छ।

फागुन शुक्ल अष्टमीदेखि सुरु हुने यस पर्वअन्तर्गत गद्दी बैठकअगाडि चिर गाडेर पूजा गरिन्छ। राति ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भोजन अर्पण गर्ने परम्परा पनि रहेको छ।

फागु पर्वसँग त्रेतायुगको भक्त प्रह्लाद र होलिकाको कथा जोडिएको छ। शक्तिको दुरुपयोग गर्ने होलिकाको दहन र सत्य तथा भक्ति विजयी भएको सन्देशस्वरूप यो पर्व मनाइने विश्वास गरिन्छ। द्वापरयुगमा श्रीकृष्णसँग सम्बन्धित पौराणिक कथासमेत यस पर्वसँग गाँसिएका छन्।

आयुर्वेदका अनुसार प्राकृतिक रङ र अबिरको प्रयोग स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ। चिर दहनबाट निस्कने धुवाँले शीतकालीन रोगका कीटाणु नष्ट हुने विश्वास पनि छ।

पछिल्ला वर्षहरूमा नशालु पदार्थको दुरुपयोग, झैझगडा तथा सवारीसाधनमा लोला हान्ने जस्ता विकृति कम हुँदै गएको देखिएको छ। यस दिन महिला तथा पुरुष समूहबद्ध भई बाजागाजासहित नाचगान गर्दै रमाइलो गर्ने परम्परा रहिआएको छ।

थकाली समुदायले रङ्गीबिरङ्गी पोसाकमा सजिएर तिर हान्ने प्रतियोगिता गर्ने चलन पनि यस पर्वको विशेष आकर्षण हो। सात दिनसम्म विभिन्न रूपमा मनाइने फागु पर्वले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको सन्देश दिने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्