मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सक्नुहुन्छ । आजको कामले भविष्य सुध्रनुका साथै ठोस आम्दानी समेत हासिल हुनेछ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धी प्रदान गर्नेछ, जुनसुकै काममा शुभचिन्तकहरूको साथ पाउने दिन हो । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलो हुनसक्छ । कामको बोझ बढेको अनुभूति हुनेछ, त्यस्तै आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा सतर्कता अपनाउनु पर्दछ । धनार्जन गर्न नसकिए पनि दिगो स्रोत जुटाउने समय हो, चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिंदा अवसर गुम्ने खतरा छ । राम्रो रिजल्ट निकाल्न राम्ररी खट्नुपर्ने समय हो । दिन मनोरञ्जनपूर्ण नै हुनेछ, आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थितिसमेत बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सिनियर स्टाफ वा कुनै सेवाग्राहीको रिसको चक्रमा जाकिने समय छ । समस्या हल गर्न कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गर्नु ठीक हुन्छ । भेटघाट र मिलनको समय छ, तर बेकारका कुराकानी र ख्यालठट्टाले दूरी बढ्नसक्छ, होस राख्नुहोला । ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाएर काम गर्नुपर्ने हुन्छ । सेवाग्राहीसँगको विवादले कारोबारमा बाधा पुग्न सक्छ, तर बुद्धिको उपयोगले लक्ष्यमा पुग्न मद्दत पुग्नेछ । परिवारमा नयाँ कुरा भित्र्याउने दिन हो, तर मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुहोला । आत्मीयजन वा नजिकको कुनै आफन्तका निमित्त कुनै विशेष काम सम्पन्न हुनेछ, आपसी तालमेल र पारिवारिक सम्बन्ध सुदृढ बनाउन प्रयास गर्ने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सहपाठी र सहकर्मीका बीचमा गपसप गर्ने र समययापन गर्ने मौका मिल्नेछ, लवलाइफमा समेत एकआपसका सुखदु:ख एवं चाहना बुझी कार्य गर्ने प्रयत्न हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने तथा पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने राम्रो समय छ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङ नै व्यवसाय हुनेले राम्रो फाइदा गर्न सक्नुहुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको प्रयासले भाग्य र भविष्य सपार्ने समय हो । बोलीमा विशेष बल देखिन्छ । अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल बन्न सकिने छ । आम्दानीमा लगातार बृद्धि भइरहँदा आफ्नो सुखसुविधामा पनि केही धनरकम खर्च गर्न सक्नुहुन्छ, तर यी खर्चको प्रभाव तपाईको जीवनमा देखिने छैन, तथापि अहिले आय र व्ययको सन्तुलन कायम राख्ने प्रयास गर्नुपर्छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीको वैकल्पिक बाटो पहिल्याउन सकिन्छ । मिहिनेतले प्रशस्त फाइदा दिलाउने समय हो, कुनै काम रोकिएको छ भने दोहोर्याएर प्रयास गर्नुहोस्, सफलता पाउन सकिन्छ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफलता पाउन सकिन्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ । आर्थिक क्रियाकलापमा निकै सतर्कता अपनाउनु पर्ने समय छ । अझ नयाँ लगानी वा लेनदेन हो भने सोचेर कदम चाल्नु ठीक हुन्छ । बटुवा, गल्ला र सेफको सुरक्षामा ध्यान दिने समय हो । घरायसी परिस्थिति, दाम्पत्य जीवन र आपसी तालमेलमा केही कमी रहने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उच्चकोटिको पारिवारिक सुख मिल्ने समय भएकाले घरपरिवारलाई समय प्रदान गर्ने दिन हो । परिवारमा सँगै बस्नेले परपाहुनाको स्वागतसत्कारका लागि समय छुट्याउनुपर्ने हुन्छ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ, आज विगतको कर्मको उचित प्रतिफल प्राप्त हुने समय हो । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । मातापिता र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा नबन्ने काम पनि सम्पन्न हुनसक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । हाकिम वा वरिष्ठ व्यक्तित्वसँग चिनजान हुने र सामीप्य बढ्ने समय छ । विशेष लाभांश प्राप्त हुनाले आवश्यक वस्तुको किनमेल गर्न सकिने छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति/प्रगतिको चर्चा नगर्नु होला ।