Logo

आज २०७८ चैत १३ गतेको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ । कुनै ठोस काम अघि बढाउनु छ भने मातापिता वा सिनियर साथीहरूको सहमतिमा गर्नु जायज हुन्छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । आम्दानीको मार्गमा नयाँ किरण देखापर्ने दिन हो । कर्मप्रतिको समर्पणभाव बढाउनुस्, भाग्यबृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । आज ठूलो कुलघरान र परिवारका व्यक्ति वा कुनै ठूलो पदप्रतिष्ठामा रहेको व्यक्तिको सामीप्य र शुभाशीष पाउने समय हो । वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ, कार्यक्षेत्रमा सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइनेछ  ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत्लिने समय छ, एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनु हुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाति हुन्छ । आज हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय छ, तर रिस, आवेग र क्रोधको पारो छिट्टै चुलिन सक्छ, कन्ट्रोल गर्नुहोला । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अध्ययन/अध्यापनका दृष्टिले मिश्रित प्रभाव भएको दिन हो । के कति मिहिनेत गर्नुहुन्छ, त्यस अनुरूप परिणाम प्राप्त हुने देखिन्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अत: आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । धन भए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने दिन हो ।  मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

धर्मकर्म वा परोपकारी काममा चित्त जाने दिन हो, हाँके/ताकेका काममा मित्र र सहयोगीको साथ पाउनाले चिताएको काम सम्पादन हुनेछ । औजार, हातहतियार वा सरकारसम्बन्ध ठेक्कापट्टा वा काम नै व्यवसाय हो भने राम्रो लाभ पाउने दिन हो, काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ । मान्यजनको सामीप्य प्राप्त हुने तथा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन छ । दाजुभाइसँग सम्पर्क गरी भलाकुसारी गर्ने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

जग्गाजमिन वा स्थिर कारोबारका माध्यमबाट लाभ लिन सकिने छ । कला, कविता र साहित्यमा रूचि बढ्नेछ तथा यस क्षेत्रकै व्यवसाय छ भने राम्रो मुनाफासमेत हुनेछ । व्यस्तता बढ्नेछ, घरायसी बन्दोबस्तीमा समय दिन नपाउनाले परिवारका सदस्यहरूका माझमा मनमुटाव हुनसक्छ । विपरीतलिङ्गी व्यक्तिहरूसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु आवश्यक देखिन्छ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्नसक्छ, याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने समय छ । प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, दायित्वमा लगनशील बन्नसकेमा फाइदा हुनेछ, मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने छ ।  एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, व्यवहारिक समस्या हल गर्न सहयोग आदान/प्रदान हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

शासन जमाउने, नियम र अनुशासनको कडाइ गर्ने, अरुका विचार र भावनालाई बेवास्ता गर्ने बानी छ भने अहिले विवाद र कलहको योग बनेको छ, सचेतताका साथमा अघि बढ्ने समय हो ।  विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका निमित्त खट्नुपर्ने हुन्छ, तापनि सुखदु:खमा साथ दिनेहरू फेलापर्ने दिन हो । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन  ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने दिन हो, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो ।

प्रतिक्रिया दिनुहोस्