मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
औजार, हातहतियार वा सरकारसम्बन्ध ठेक्कापट्टा वा काम नै व्यवसाय हो भने राम्रो लाभ पाउने दिन हो, काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । धन बढाउन गरिएको प्रयास सफल हुनेछ वा ऋण उठाउने वा फँसेको धन उकास्ने समय छ । मुखका माध्यमबाट पनि कुनै अवसर फुत्काउन सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भ्रम र महत्त्वाकाङ्क्षामा अलमलिनाले चाहिंदा/नचाहिंदा काम गर्ने मनसाय बन्नसक्छ । उता विपरीत लिङ्गीसँगको सम्बन्धमा समेत चिसोपन आउनसक्छ । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरूले खुसी हुने मौका पाउनेछन्, नयाँ काममा थप लगानी गर्ने मनस्थिति बन्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । महत्त्वपूणर् व्यक्तिहरूको सम्पर्कमा भइने छ र हाँके/ताकेका हरेक प्रतिस्पर्द्धा र सङ्घर्षमा विजयी बन्ने दिन हो । सरकारी काम, ठेकापट्टा वा अन्य कुनै कारोवार छ भने अड्किएको काम फुकाउन सकिने छ, प्रयास गरेमा जुनसुकै क्षेत्रमा लाभ पाउने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ । कुनै ठोस काम अघि बढाउनु छ भने मातापिता वा सिनियर साथीहरूको सहमतिमा गर्नुहोला । दौडधूप र धपेडी गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भविष्य सुध्रनुका साथै ठोस आम्दानी हासिल हुनेछ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रशंसित हुने अवसर मिल्नेछ । आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । सन्तान वा भाइबहिनीका लागि थप लगानी बढाउने परिस्थिति छ, उता बुद्धि र विवेकको सही परिचालन हुन सक्दैन र कार्यक्षेत्रमा खप्की खानुपर्ने हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । आफन्तका निमित्त कुनै विशेष काम सम्पन्न हुनेछ, आपसी तालमेल र पारिवारिक सम्बन्ध सुदृढ बनाउन प्रयास गर्ने समय हो, जसबाट सुरक्षित भएको अनुभूति हुनेछ ।