मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ/लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो, नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा लिन सकिने छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आय आर्जनका मार्गमा स्पष्ट निणर्य गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । घरपरिवारबाट सुखद समाचार आउनेछ, घुमघाममा जाने वा मनोरञ्जन गर्ने मौका जुर्नसक्छ । आज प्रतियोगी र प्रतिस्पर्द्धी पनि कमजोर रहनेछन् । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । महत्त्वाकाङ्क्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र सट्टापट्टामा धनलगानी गर्नुभयो भने पछुतो हुनेछ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ ।