काठमाडौँ, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि राष्ट्रहरूका बिचमा विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने नेपालको मान्यता रहेको बताएकी छन् ।
शनिबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वमा आणविक हतियारको होडबाजी रोकिनुपर्नेमा जोड दिँदै सबै प्रकारका युद्धको विरोध गर्ने बताए ।
संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व, विश्व–बन्धुत्वको भावना, अनाक्रमण र अ–हस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्ने नेपालको स्पष्ट दृष्टिकोण रहेको उनले बताइन् ।
जलवायु परिवर्तन आजको विश्वले भोग्नुपरेको ठूलो चुनौतीका रूपमा खडा भएको भन्दै उनले यसका लागि अन्तर्राष्ट्रिय कानुनहरू बन्न बाँकी नै रहेको बताइन् ।
न्यायमा आधारित विश्व व्यवस्थाले मात्र नेपाल जस्ता राष्ट्रको विशिष्ट आवश्यकतालाई गम्भीरतापूर्वक बोध गर्नसक्ने जिकिर गरिन् । नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, आफूले हस्ताक्षर गरेका द्विपक्षीय, बहुपक्षीय सन्धि, अभिसन्धि र महासन्धिप्रति सदैब प्रतिबद्ध रहेको उनको भनाइ छ ।







