Logo

आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको न्यायका लागि सरकारविरुद्ध प्रदर्शन



काठमाडौँ, ११ माघ । मङ्गलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ ।

बुधवार स्व.आचार्यको २५ बुँदे माग पूरा गर्न सरकारविरुद्ध विरोध प्रदर्शन भएको हो ।

काठमाण्डौको माइतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै विरोध भएको छ । मङ्गलवार आफूमाथि पेट्रोल छर्किएर आगो लगाइ आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधवार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

विभिन्न व्यवसाय गर्न खोज्दा व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए ।

प्रदर्शनमा उत्रिएकी एक आन्दोलनकारीले मतदाताहरुले नयाँ शक्तिको रुपमा सत्तामा पुर्‍याएकाहरुले यो अवस्थाको सिर्जना गर्नेहरुलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताइन् ।

उनले बैंकहरुले उद्योगीहरुलाई दिने ऋणमा सहुलियत दिनुको ठाउँमा उल्टै कमिसन खाने जस्ता कुराहरुले उद्योगी, व्यवसायीहरु झनै पीडामा परेको बताइन् ।

उनले गृहमन्त्री रवि लामिछानेले माफी मागेर मात्रै घटना नसकिने भन्दै यो अवस्थामा लैजान प्रेरित गर्ने सबैलाई कारबाही गर्नसकेमात्र मृतकप्रति न्याय हुने बताएकी हुन् ।

आत्मदाह गरेका आचार्यलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरूले सरकारविरुद्ध विभिन्न नाराबाजीसहित विरोध गरेका छन् ।

‘यो देश हो कि बधशाला?, अर्को जल्दो शरीर मेरो नहोस्, उद्यमशील नेपाल, नेपाल नारा मात्रै हो? प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार? यो आत्महत्या होइन हत्या हो? ठूला व्यापारी कसको आश्रयमा? स्व.आचार्यका २५ बुँदे माग पूरा गर्’ लगायतका पर्चा बोकेर युवाहरूले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्