काठमाडौँ, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनु पर्नेमा जोड दिएकी छन् ।
जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्दै उनले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दीगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनु पर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निकासी प्रवद्र्धन गर्न सके मात्र हाल मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने धारणा राखेकी थिइन् ।
उनले भन्नि, “आजको प्रतिस्पर्धी युगमा उत्पादनको विविधीकरण र उपभोक्ताको रुचिलाई ध्यानमा दिएर गुणस्तरीय उत्पादनसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली उत्पादनमार्फत विश्व बजारबाट लाभ हासिल गर्न सकिन्थ्यो, त्यसैले स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक छ ।”
नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन जुत्ता चप्पल उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले सरकार र निजी क्षेत्रबीच साझेदारीता अभिवृद्धिका साथ नेपाली उत्पादन प्रवद्र्धन र निर्यातमा मेला उपयोगी हुने विश्वास व्यक्त गरेकी थिइन् ।







