Logo

आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन सरकार गम्भीर ः स्वास्थ्य मन्त्री



धनुषा, ११ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीमा निर्मित ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थानुसार नागरिकलाई नि:शुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको स्पष्ट पारेका थिए ।

उनले मन्त्रालयले छ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुनेगरी काम गरिरहेको दावी गरेका हुन् ।

“स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरी तीन हजार २५ शय्या गरिब तथा विपन्न वर्गका लागि नि:शुल्क छुट्याउने काम गरिसकेको छ”, उनले भने, “अस्पतालले १० प्रतिशत शय्या नि:शुल्क छुट्याउने नियम कडाइपूर्वक पालना गराइने छ ।”

प्रतिक्रिया दिनुहोस्