मेचीनगर, १९ चैत । आधुनिक बचत तथा ऋण सहकारी संस्था (आबस)ले सदस्यहरुलाई बिउविजन वितरण गरेको छ ।
सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गर्दै सहकारी संस्थाले पाँच सयभन्दा बढी सदस्यलाई मौसम अनुकुलको बिउविजन वितरण गरेको हो ।
मेचीनगर-२ भृकुटीस्थित ज्येष्ठ नागरिक भवनमा आयोजित साक्षरता कार्यक्रममा सहभागी सदस्यहरुले बिउविजन प्राप्त गर्दै सहकारी संस्थाप्रति आभार व्यक्त गरेका छन् ।
उक्त कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक पारस ओली, भद्रपुर कार्यालय प्रमुख प्रकाश आचार्य र बिर्तामोड कार्यालय प्रमुख माधव भट्टराईलगायतले गरेका थिए ।
सो कार्यक्रममा सदस्यहरुलाई विगतका वर्ष झैँ संस्थाका विविध कारोबारका बारेमा जानकारी गराइएको थियो । सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कमल थापाले जानकारी दिए ।
प्रशिक्षार्थी सदस्यहरुकातर्फबाट धरणीधर पोख्रेल, बलराम कार्की र छलबहादुर सारुले कार्यक्रमबाट आफूहरु लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।
संस्थाका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी मेचीनगर-२ का वडाध्यक्ष दिपक बराल रहेका थिए ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथी बरालले आधुनिक साकोसले कृषि सम्बन्धी महत्वपुर्ण कार्यक्रम आयोजना गरेको भन्दै यस्ता कार्यक्रमले सदस्यहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने बताए । ‘सहकारी संस्थाहरुले यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गर्न जरुरी छ, जसका लागि सहकार्य गर्न स्थानीय सरकार सधैँ तयार रहन्छ ।’ उनले भने ।
संस्थाका उपाध्यक्ष युवराज भट्टराईले औचित्य माथी प्रकाश पारेका थिए भने भृकुटी उपसमिति सदस्य पुष्पलाल गुरागाईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन भृकुटी कार्यालय प्रमुख पवित्रा थापाले गरेकी थिइन् ।