Logo

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री



काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ।

प्रधानमन्त्रीनिवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७औँ सभा-बैठकमा सम्बोधन गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सिर्ना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यालयले अगुवाइ गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पत्तिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरूको उचित जगेर्ना गर्ने पनि स्पष्ट पार्नुभयो। बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो।

उपकुलपति प्रा.डा. धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिहरूको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङमयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय–व्यय (बजेट) पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्