Logo

आन्दोलनमा जाँदा पुगेको क्षतिपूर्तिका लागि बिदाका दिन पढाउँछौँ: शिक्षक



काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा जाँदा भएको शैक्षिक क्षतिलाई बिदाका दिन पढाएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएपछि बसेको महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले अहिले आन्दोलनमा जाने र यसको घाटा बिदाका दिन पढाएर पूरा गर्ने निर्णय गरेको हो ।

प्रधानाध्यापकहरूले बैठकपछि निकालेको संयुक्त विज्ञप्तिमा आन्दोलनभर विद्यालय बन्द गरेर शिक्षकहरूले माइतीघर मण्डलामा नियमित हाजिर गर्ने उल्लेख छ ।

सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले बुधवारदेखि काठमाडौँमा प्रदर्शन शुरु गरेका हुन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा देशका विभिन्न ठाउँबाट काठमाडौँ आएका शिक्षकले प्रदर्शन गरेका हुन् ।

काठमाडौँ महानगरपालिका लगायत केही पालिकाहरूले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई चेतावनी दिएका छन् । शिक्षकहरुले पालिकाअन्तर्गत बस्न अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्