Logo

आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन पहल भइरहेकाे छ: गुरुङ



काठमाडौँ, १३ वैशाख । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् ।

सत्तारुढ दलहरूबीचको सहमति विपरीत पनि पालिका चुनावमा मनोनयन दर्ता भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई फिर्ता गर्ने सक्दो पहल र प्रयास भइरहेको बताएका हुन् ।

उनले मनोनयनमा परेकाहरूबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न गठबन्धनका दलहरूबीच सहमति नभए पनि एमालेप्रति सङ्केत गर्दैै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरू सचेत रहेको बताए ।

संवाद डबलीले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चगमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनुपरेको तर्कसमेत गरेका थिए ।

उनले भने, ‘कतिपय पालिका र वडामा दलहरूले आ-आफनो दलका तर्फबाट मनोनयन दर्ता गराएका छन् । संवाद् चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास भइरहेको छ । यदि त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरूलाई हावी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढ्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्