Logo

आफू राम्रो र अरू नराम्रो भनेर प्रचारप्रसार गर्न पाइँदैन: भण्डारी



काठमाडौँ, ३१ असोज । निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उमेदवारहरूलाई आग्रह गरेका छन् ।

न्युज एजेन्सी नेपालसँग भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए ।

आयुक्त भण्डारीले उमेदवारले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराएका छन् । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे। घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरित हुने उनको भनाइ  छ ।

आचारसंहिताको परिधिभित्र बसेर कानुनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उमेदवारहरूलाई आग्रह गरेका छन् ।

’उमेदवारहरूले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । उमेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न हामीले भनेका छौँ,’ उनले भने, ‘अरु दल र स्वतन्त्र उमेदवार नराम्रो भनेर प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।’

आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उमेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने स्पष्ट पारे । ‘मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन । कानुनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुपर्यो ।  यदी निर्वाचन प्रचारप्रसार गर्दाखेरी यो आचारसंहीतालाई उल्लंघन गरिदिनु भयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरुलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘उहाँहरुको मनोनयनपत्र खारेज पनि हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्