Logo

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ: कोइराला



काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्लो समय आफ्नै कमी कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो भएको बताएका छन् ।

“अब हामी ढिलो नगरी जनअपेक्षाअनुरुप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन”, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, “हाम्रा कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो ।”

उनले २०४८ सालमा ल्याएको सुधारको शृङ्खलालाई निरन्तरता दिन नसक्दा नै अहिले समस्या उत्पन्न भएको धारणा राखे । उनले लोकतान्त्रिक राजनीतिक प्रणालीले विशिष्ट मूल्यपद्धति र नैतिक मूल्यको अपेक्षा गर्ने उल्लेख गर्दै राजनीतिक पद्धति जतिसुकै राम्रो भए पनि त्यसअनुरुप व्यवहार नभएको बताए । उनले देशमा अराजकताले मात्रै प्रश्रय पाउँदा राजनीतिक उपलब्धि पनि धरापमा पर्ने उल्लेख गरेका थिए ।

सरकारको सामु चुनौतीको चाङ भए पनि नागरिकलाई भरोसा र विश्वास लिएर अगाडि बढ्दा अवसरका अपार सम्भावना रहेको उनको भनाइ छ । उनले देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च कटौती गर्दै राजनीतिक सहमति कायम गरी अघि बढ्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्