काठमाडौँ, ५ असोज । डाक्टर गोविन्द केसी काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा.केसी अनशनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
सात बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेको १० औँ दिनमा उनी बुधवार आफ्नै खर्चमा काठमाडौँ आएका हुन् । अस्पताल भर्ना भए पनि अनशन जारी रहने उनका सहयोगी नडा.अमृत जैसीले बताए ।
सरकारले मङ्गलवार नै नेपाली सेनाको जहाजमार्फत काठमाडौँ ल्याउन खोज्दा केसीले अस्वीकार गरेका थिए । अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि थप उपचारका लागि काठमाडौँ ल्याउन सरकारले समेत पहल गरेको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो ।
अस्पतालले डा.केसीको शरीरमा पोषण तत्त्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ । त्यस्तै त्यहाँका चिकित्सकले पेटमा कडा खालको अल्सर भएको आशङ्कासमेत गरेका छन् ।