
काठमाडौँ, ३१ असार । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने बताएकी छन् ।
शुक्रवार उपसभामुखमा निर्वाचित भएसँगै संसद् भवन नयाँ बानेश्वबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने बताएकी हुन् । उनले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने उल्लेख गरेकी छन् ।
राष्ट्रिय राजनीतिको विविध आयामलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र देशको समृद्धिका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ । उनले भन्नि, ‘उपसभामुखमा निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरू थपिएको छ । संविधान कार्यान्वयनका लागि, समावेशी लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार देशको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नका लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्त्वपूर्ण ढङ्गबाट विषय उठाउनेछु । सदनमा एउटा तटस्थताको भूमिकालाई निर्वाह गर्नका जिम्मेवारी थपिएको छ ।’







