माल्दिभ्स, ६ कात्तिक । माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशबाट भारतीय सेना तुरुन्तै हटाउने बताएका छन् ।
बीबीसीसँगको एक अन्तवार्ताका क्रममा राष्ट्रपति मुइज्जुले माल्दिभ्सको भूमिमा आफूहरूलाई कुनै पनि सेनाको उपस्थिति सह्य नहुने भन्दै तुरुन्तै भारतीय सेना हट्नुपर्ने बताएका हुन् ।
गएको महिना माल्दिभ्सको राष्ट्रपतीय चुनावका बेला उनले भारतीय सेना हटाउने वाचा गरेका थिए । उनले आफूले चाँडै चुनावको वाचा पूरा गर्ने दाबी गर्दै भारतीय राजदूतलाई भेटेर पनि यो विषयमा जानकारी गराएको उल्लेख गरेका थिए ।
विशेषगरी वर्तमान राष्ट्रपति इब्राहिम सोलिह सन् २०१८ मा सत्तामा आएपछि भारतसँग निकटता बढाएको भन्दै आलोचना भएको थियो, त्यसैको जवाफ नागरिकले चुनावमा दिएका खबरमा उल्लेख छ ।
इब्राहिमले ‘इन्डिया फर्स्ट’ नीति लागू गरेर भारतसँग नजिक हुने काम गर्नुभएको थियो तर नवनिर्वाचित राष्ट्रपति मुइज्जुको गठबन्धनले चीनसँग घनिष्ठ सम्बन्ध बनाएको छ । चीनले माल्दिभ्समा पूर्वाधार र विकास परियोजनाका लागि ऋण र अनुदानको रूपमा करोडौँ डलर लगानी गरेको छ ।
हिन्द महासागरको ठूलो भागको निगरानीका लागि माल्दिभ्स रणनीतिक रूपमा महत्त्वपूर्ण रहेकाले भारतले त्यहाँ प्रभुत्व जमाउन खोजेको छ र माल्दिभ्सको विकासका लागि दुई अर्ब डलर लगानी गरेको छ । यदि भारतीय सैनिकलाई माल्दिभ्स छोड्न बाध्य पारियो भने त्यो भारतका लागि ठूलो झट्का हुनेछ ।







