Logo

आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्नुस्: माधव नेपाल



काठमाडौँ, ११ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दश भाइ’लाई नसाबाट बाहिर आउन सुझाव दिएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकलाई संबोधन गर्दै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न पनि आग्रह गरेका छन् ।

“कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु, अझै पनि दिमागबाट उनीहरूको नशा उत्रिएको छैन । तथानाम लेखिरहेका छन् । दासजस्तो भएर बसिरहेका छन्,” अध्यक्ष नेपालले भने, “उनीहरूमा कुनै मूल्यमान्यता छैन । पदीय गरिमा पाएका छैनन् । तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।”

उनले तत्कालीन नेकपामा विद्रोह जायज रहेको स्मरण गरे । त्यसैले विद्रोह गरेको उनले स्पष्ट पारे । उनले भने, “होइन भने दास भएर बस्नु पर्नेथियो । अथवा राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिलेसम्म कसैको आँखा खुलेको छैन भने उनीहरूको पनि आँखा खुलोस्।”

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आवद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढन आफ्नो पार्टी तयार रहेको बताए ।  उनले गठबन्धनसँग तालमेल गरेर र आफनै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गरे ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भएपनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाएको  बताए ।

प्रतिक्रिया दिनुहोस्