Logo

आयल निगमद्वारा मूल्य समायोजन: डिजेल र मट्टितेल महँगियो, पेट्रोल र ग्यासको मूल्य यथावत्



काठमाडौं, १७ माघ । नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको दर समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ। यद्यपि आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँको मूल्यवृद्धि भएर आए पनि उपभोक्तामाथि तत्काल असर नपरोस् भनेर निगमले मूल्य नबढाएको बताएको छ।

उता हवाई इन्धनको मूल्यमा भने राहत दिइएको छ। आन्तरिक उडानका लागि हवाई इन्धन प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलो अमेरिकी डलर सातले मूल्य घटाइएको निगमले जानकारी दिएको छ। पोखरा र भैरहवाका हकमा भने लागत बराबर (ब्रेक–इभन) मूल्य कायम गरिएको छ।

नयाँ दर आज रातिदेखि देशभर लागू हुने निगमले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्