काठमाडौं, १८ पुष । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएको छ।
आयोगले यसअघि नै घटनाबारे लिखित धारणा माग गरेको थियो, तर सो प्रक्रिया अघि नबढेपछि सार्वजनिक सूचना जारी गर्ने चेतावनीसहित पुनः पत्र पठाइएको हो।
आयोगका अनुसार देउवा र दाहाल दुबैका निजी सुरक्षा अधिकृत (पीएसओ) मार्फत पत्र बुझाउने प्रयास गर्दा प्रारम्भिक चरणमा अस्वीकार गरिएको थियो। तर म्याद भित्र धारणा नबुझाए सार्वजनिक सूचना निकाल्ने भनाइपछि उनीहरूले पत्र बुझेको आयोग स्रोतले जनाएको छ।
स्रोतका भनाइअनुसार दुवै नेताले अब घटनासम्बन्धी आफ्नो लिखित जवाफ पठाउने तयारी गरेको जानकारी आयोगलाई प्राप्त भएको छ। आयोगले जवाफका आधारमा थप अनुसन्धान अघि बढाउने जनाएको छ।







