Logo

आयोगले तोसिमालाई भन्यो: घन्टी बजाउँदै चुनाव प्रचार नगर्नु



काठमाडौँ, २३ कात्तिक । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा.तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ ।

आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको कार्कीले जानकारी दिइन् ।

‘मलाई आचारसंहिता अनुगमन समितिबाट भनेर फोन आएको थियो । उहाँले घन्टीले ध्वनि प्रदूषण भएको उजुरी परेको जानकारी गराउँदै घन्टी बजाउँदै चुनावी प्रचार नगर्न निर्देशन दिनुभयो,’ कार्कीले भनिन् ।

कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी हो ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ । यसअनुसार उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन।

उक्त आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि-सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुनेु उल्लेख छ । यसैअनुसार निर्वाचन आचारसंहिता अनुगमन समितिले कार्कीलाई चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारमा नहिँड्न भनेको हो ।

आयोगले यसअघि कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्