Logo

आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना र अनुगमन गर्ने



काठमाडौँ, ८ चैत । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ । आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अनुगमनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको हो । सो प्रणाली जडानको समन्वयका लागि आयोगले सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा सोमबार प्रवक्ता शालिग्राम शर्मा पौडेलले भिडियो सिस्टम जडानका लागि सबै स्थानीय तहलाई आग्रह गरिसकेको जानकारी दिए । पौडेलले भने, “मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणना कार्यको अनुगमन आयोग परिसरबाटै अनुगमन गर्ने उद्देश्यले हरेक मतगणना स्थलमा मतगणना स्थल दृश्य अनुगमन प्रणाली र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम जडान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।”

यस्तै आयोगले चैत ९ देखि १७ गतेसम्म राजनीतिक दल र सरोकारवालासँग नेपाल कानुन समाजसँगको सहकार्यमा सात प्रदेश र १५ जिल्लामा आचारसंहिताबारे छलफल गर्ने पनि निर्णय गरेको छ । आयोगले सुरक्षा व्यवस्थापन निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्