काठमाडौँ, २ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग कडा भएको नभइ कानुनको पालना मात्रै गराउन खोजेको बताएका छन् ।
शुक्रवार काठमाडौँ पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले आम मानिसमा आयोग कडा भएको भन्ने भ्रम सिर्जना भएको भन्दै आयोगले संविधानलाई कार्यान्वयन गरेको बताए ।
प्रमुख आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता अनुशासित भए आयोग कडा भएको अनुभव नै गर्न नपर्ने उल्लेख गरे । कानुनले भनेका कुरा पूर्णतया पालना गराउने पक्षमा आयोग रहेको उनको भनाइ छ ।
उनले भने, ‘निर्वाचन आयोग कडा भएको छैन । पटक्कै कडा भएको छैन । फुटबल खेल्दा रेफ्रीले रेड कार्ड देखाएन भने रेफ्री कडा भएको होइन, खेलाडी गतिला भएका हुन् । अनुशासित भएका हुन् । साँच्चै यो देशमा राजनीतिक खेलाडीहरू, निर्वाचनका खेलाडीहरू अनुशासित हुँदै गएका हुन् भने यो हाम्रो निम्ति खुसीको विषय हो । हामी हिजो जस्तो थियौँ, अहिले पनि त्यस्तै छौँ । कानुन तिनै हो । बनाएको कानुन पालना गरौँ । कानुनले कसैलाई वर वा पर भन्न हुँदैन । ठूलो वा सानो भन्नु हुँदैन । जसरी मतको मूल्य बराबर छ, त्यसैगरी कानुनले गर्ने व्यवहार पनि बराबर हुन्छ ।’