Logo

आयोजक भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा



झापा, १३ फागुन ।  आयोजक टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो ।

९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।

त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह र साहिदले गोल गरे । युसुफ एमबीको प्रहार क्रसबारमा र इब्राहिमको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।

घरेलु दर्शकको समर्थन पाएको आयोजक भद्रपुर ब्लेजर्सले खेलको २९ औँ मिनेटमा अग्रता लिएको थियो । भद्रपुरका विदेशी खेलाडी अबयोमीले पेनाल्टी एरियाबाट गरेको प्रहार डिफेन्सबाट रिबाउन्स भएको बललाई सत्यम शर्माले कडा प्रहार गरी जाली चुमाए ।

पहिलो हाफमा १–० ले पछि परेको बंगलादेशले खेलको ६२ औँ मिनेटमा खेल बराबरीका ल्यायो । काजी रहदको लङ थ्रो पासमा साकिलले हेडमार्फत दोस्रो बार च्याप्दै गोल गरे ।

खेलको प्लेयर अफ द म्याच भद्रपुरका गोलकिपर टेकेन्द्र थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम सेमिफाइनल खेलमा झापा ११ एफसी र डागा युनाइटेड भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताउनुभयो । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्