Logo

आरिफ र दीपेन्द्रको अर्धशतकमा यूएईमाथि नेपालको सहज जित



काठमाडौं, २० माघ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारी अन्तर्गत भएको वार्म अप खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ। दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतकीय इनिङ्सको मद्दतमा नेपालले १४६ रनको लक्ष्य १७ ओभरमै पूरा गर्दै सशक्त प्रदर्शन गरेको हो।

दीपेन्द्रले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ५० रन बनाए भने आरिफले ३७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६१ रन जोडे। सुरुआतमा कुशल भुर्तेल र आसिफ शेख ८–८ रनमा आउट हुँदा कप्तान रोहित पौडेल १६ रनमा रनआउट भए। त्यसपछि ऐरी–आरिफको साझेदारीले नेपाललाई जिततर्फ डोर्‍यायो।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले यूएईलाई २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रनमा सीमित गर्‍यो। यूएईका लागि हर्षित कौशिक (३५) र मयंक कुमार (नटआउट ३८) ले छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गरे।

नेपालतर्फ करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।

नेपालले दोस्रो वार्म अप खेल माघ २२ गते क्यानडासँग खेल्नेछ। समूह ‘सी’ मा रहेको नेपालले विश्वकपको पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इंग्ल्यान्डसँग खेल्दै अभियान सुरु गर्नेछ।

प्रतिक्रिया दिनुहोस्