झापा, २४ चैत । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा निर्वाचित महिला जनप्रतिनिधिले आर्थिकका कारण माथिल्लो तहमा प्रतिस्पर्धा गर्न गाह्रो भएको गुनासो गरेका छन् ।
नारी सञ्चार गृह झापाको आयोजनामा बिहीबार बिर्तामोडमा सम्पन्न स्थानीय तह निर्वाचन २०७९, प्रमुख पदमा महिला सहभागिता र दलको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी महिला जनप्रतिनिधिले आफू आबद्ध राजनीतिक दलले आर्थिक कारण देखाएर प्रमुख पदमा उम्मेद्वार बनाउन नै आनाकानी गर्ने गरेको गुनासो पोखेका थिए ।
”वडाध्यक्षमा उठ्ने भए २०/२५ लाख पैसा चाहिन्छ निकाल्न सक्छौ भनेर प्रश्न सोधिन्छ” बिर्तामोड-५ कि वडा सदस्य हर्कमाया बिकले भनिन- ” मलाई वडाध्यक्ष उठ्ने मन छ, वडा बनाउने भिजन छ तर त्यत्रो पैसा कहाँबाट निकाल्ने? त्यसैले छोडिदिए । ”
त्यस्तै उनले महिलासँगै दलित महिलाहरुले झन बढी विभेद भोग्नु परेको गुनासो गरिन् । दलित महिलाहरुलाई सभा सम्मेलनमा आसन ग्रहण गर्नेदेखि लिएर माइन्युटमा हस्ताक्षर गर्नेमा समेत अन्तिममा मात्र राखेर विभेद गर्ने गरिएको सुनाइन् ।
महिला भएकै कारण अधिकार लिनपनि पुरुषहरुसँग लडाई गर्नुपरेको वडा नम्बर ६ की जनप्रतिनिधी पवित्रा कोइराला ढुंगानाले गुनासो गरिन् । निर्वाचन भड्किलो बन्दा भ्रष्टाचार बढ्ने ढुङ्गानाले बताइन ।
बिर्तामोड-५ की वडा सदस्य तथा कार्यपालिका सदस्य भागिरथा घिमिरे आचार्यले पनि आर्थिक समस्या देखाइन । पुरुषहरुलाई समाजमा आर्थिक अधिकार हुने हुँदा आफ्नो निर्णयमा खर्च गर्न सक्ने तर महिलाहरु खर्च गर्न परिवारले नै अधिकार नदिने हुँदा कतिपय महिलाहरु क्षमतावान हुँदा हुँदैपनि प्रमुख पदमा उम्मेद्वारी दिनबाट पछि हट्नु पर्ने बताइन् ।
उनले भनिन-” मेरै नाममा करोडको सम्पती छ, तर म त्यो बेचेर निर्वाचनामा लड्छु भन्न सक्दिन, पाउदिन । तर मेरो ठाउँमा पुरुष उम्मेदवार हुने हो भने घर घडेरी बेचेर निर्वाचन लड्छ । “
बिर्तामोड-१० की जनप्रतिनिधी गीता घिमिरे पोखरेलले पार्टीका नेताहरुले निर्वाचनमा पैसा खर्च हुन्छ भन्ने र आफूहरुलाई पुरुषलाई जस्तो आर्थिक अधिकार नहुने हुँदा उम्मेद्वारी दिन महिलाहरु हिच्किचाउनु पर्ने अवस्था रहेको बताइन् ।
बिर्तामोड-४ की वडा सदस्य कविता थापाले सञ्चारमाध्यमहरुले महिलाका कुराहरु नसमेटने गरेको गुनासो पोखेकी थिइन् । उनले विकास निर्माणका काममा पनि आफना मान्छे भएका ठाउँमा मात्र बजेट बिनियोजन हुने गरेको बताइन् ।
नारी सञ्चार गृहका निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले सहजीकरण गरेको कार्यक्रममा यमुना आचार्य, शोभा विश्वकर्मा, पर्शुराम खनाल, टीका संग्रौला, प्रेमकुमार खरेललगायत अधिकांश वक्ताले आर्थिक अभावकै कारण देखाएर राजनीतिक दलले माथिल्लो तहमा उम्मेदवार बनाउन नचाहेको बताए ।
बिर्तामोड नगरपालिकाका उपमेयर एवं प्रमुख अतिथि पबित्रा महतारा प्रसाइले घर- परिवार सबै मिलाएर बाहिर निस्किएका महिलाले जिम्मेवारी पाए जस्तोसुकै चुनौतीपूर्ण काम गर्न सक्ने बताइन ।
दुई चरणमा सप्पन्न कार्यक्रम अन्तरगत पहिलो चरणमा महिला जनप्रतिनिधिले आ-आफ्नो अनुभव सुनाउँदै माथिल्लो तहमा उम्मेदवारीका विषयमा आकांक्षा ब्यक्त गरेका थिए दोश्रो चरणको कार्यक्रममा दलका नेताहरुको धारणा मागिएको थियो ।
सो क्रममा नेकपा एमालेका झापा अध्यक्ष दीपक कार्कीले सामाजिक सोच परिवर्तन नभएसम्म महिलालाई प्रमुख पदमा उठाउन नसकिएको बताए । सामाजिक सोचका कारण महिलाको तुलनामा पुरुषलाई बलियो उम्मेदवार मान्ने दृस्टीदोस प्रमुख बाधक रहेको उनको भनाइ थियोे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मशिला चापागाईंले कानुनले बाध्यकारी ब्यवस्था गरेका पदमा समेत महिला नेतृत्व स्वीकार गर्न दलहरुले अस्वीकार गर्ने गरेको बताइन ।
नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधी दीपक तामाङले योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा उम्मेदवार तय गरिने बताउदै क्षमतावान महिला आए पछि नपार्ने प्रतिबद्धता जनाए ।
एकीकृत समाजवादीकी केन्द्रीय सदस्य शारदा घिमिरेले पितृसत्तात्मक समाज भएकै कारण हक अधिकारका लागि महिलाहरु नै संगठित हुनुपर्ने धारणा राखेकी थिइन् । आवश्यकताले गर्दा महिलालाई राजनीतिमा पचास प्रतिशत सहभागिता दिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, सरस्वती सिटौला, शारदा शर्मा, संगीता रौनियार, निरु खतिवडा, कृष्णमाया रिजाल, जनबहादुर जबेगु लगायतले मन्तब्य राख्दै लिङ्गकै कारण महिलाहरू राजनीतिक हिंसामा पर्ने गरेको बताए ।
नारी संचार गृहका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापामा महिला जनप्रतिनिधिको अवस्थाका बिषयमा उपाध्यक्ष रेजिना गौतमले झापाका स्थानीय तहमा महिलको उपस्थिति बारेमा प्रस्तुत गरेकी थिइन् ।