Logo

प्राकृतिक स्रोत परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेका छौँः अर्थमन्त्री



काठमाडौँ, २९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताएका छन् ।

आइतवार काठमाडौँमा आयोजित आ‍ईएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गरेका छन् ।

मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताए । उनले भने, ‘यो बजेटले रेमिट्यान्सको रूपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेषरूपमा विदेशी मुद्रा भित्र्याउने महत्त्वकाङ्क्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरू, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ । उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलतालाई कम गर्दै लगिने पनि बताए । उनले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै त्यसमा पनि आवश्यक सुधार गरिने बताए । उनले नीतिगत सुधार गर्दा व्यवसायीहरूको मागलाई पनि ध्यान दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्