काठमाडौँ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछूत तथा जातीय विभेदविरुद्धको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले उठाएको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले निरन्तर सांस्कृतिक आन्दोलन र अभियान चलाउनुपर्ने बताए ।
उनले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि सरकारको तर्फबाट भएका कानुनको प्रभावकारी कार्यान्वयन र अपुग भएका कानुन निर्माणका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्रीले दलित समुदायलाई अधिकार सम्पन्न गराउनका लागि ऐतिहासिक कर्म गर्न दृढ रहेको स्पष्ट पारे । उनले भने, “सरकार दलित समुदायको पक्षमा ऐतिहासिक कर्म गर्न दृढ र प्रतिबद्ध छ ।”
दलित समुदाय र महिलामाथि भएको विभेद र ज्यादती अन्त्य गर्न कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वको सोचमा समेत परिवर्तन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास तथा समृद्धिको अभियानबाट पनि जतीय विभेद कम गर्न सकिने बताए ।
प्रधानमन्त्रीले आफूहरु क्रान्तिकारी आन्दोलनमा रहेको बेला उठाइएका विषय नै सङ्कल्प प्रस्तावमा समावेश गरिएकामा प्रसन्नता व्यक्त गरे । उनले क्रान्तिका बेला कायम भएका अन्तरजातीय विवाह क्रमशः सम्बन्ध विच्छेदतिर गएकामा दु:ख व्यक्त गरेका थिए ।
निरन्तर सामाजिक चेतना, रुपान्तरण र सांस्कृतिक आन्दोलनसँगै अगाडि जान जरुरी रहेको उल्लेख गर्दै उनले केही कानुनलाई व्यवहारिक रुप दिन जरुरी रहेको बताए ।







