Logo

आर्थिक स्थायित्व र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध: प्रधानमन्त्री



काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र सरकारले आर्थिक स्थायित्व एवं आन्तरिक रोजगारी सिर्जना हुनेगरी काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्रका विद्यमान समस्या, बेरोजगारी, युवा पलायनका साथै चुरेको विनाशका बारेमा सांसद किरणकुमार शाहले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्रका प्रायःसूचकहरु सकारात्मक रहे पनि केही क्षेत्रमा अझै चाप रहेको संसद्लाई जानकारी गराएका हुन् ।

“अर्थतन्त्रमा देखापरेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ । सरकारले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको छ”, प्रधानमन्त्री दाहालले भने, “देशभित्रै रोजगारीका अवसर सिर्जनाका लागि आन्तरिक रोजगारी प्रवद्र्धन दशक अभियानको तयारी भइरहेको छ । उत्पादनमूलक क्षेत्रमा प्राथमिकताका साथ लगानी वृद्धि गरी स्वदेशी श्रमको स्वदेशमा नै उपयोग गर्न सीप विकास तथा रोजगारी सूचना प्रवाहमा स्थानीय तहको सहभागिता वृद्धि गर्ने कार्यक्रमलाई अभियानका रुपमा अघि बढाइँदैछ ।”

दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान गठन गरिएको प्रधानमन्त्री दाहालले बताए । त्यस्तै स्वरोजगार प्रवद्र्धनका लागि नवप्रवर्तनलाई सार्वजनिक निजी साझेदारीको अवधारणामा राष्ट्रिय अभियानकैरुपमा सञ्चालन गरी यसबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले कृषि, पशुपन्छीपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामूहिक उद्यमशीलतामार्फत उत्पादन तथा रोजगारी बढाउने विशेष कार्यक्रम सबै पालिकामा कार्यान्वयन गर्नेगरी अघि बढाइएको बताए । स्वदेश फर्किएर आफ्नै भूमिमा रोजगारी गर्न चाहनेले यस कार्यक्रममा सहभागी हुन विदेशबाटै आवदेन दिनसक्ने गरी नयाँ व्यवस्था गरिने उनले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्