बिर्तामोड, फागुन २५ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो ।
एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । भोलिको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच हुनेछ ।
प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको छ । फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।