रौतहट, १७ भदौ । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले रौतहट क्षेत्र नं २ बाट मोहम्मद अफताब आलमको नाम सिफरिस गरेको छ ।
मानिसहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु जेलमा रहेका आलम प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं.२ बाट आलमको मात्र एकल नाम सिफारिस भएको कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताए । ‘आलमको नाम प्रस्ताव भएपछि कसैले हक दाबी वा विरोध गरनेन्’, उनले भने, ‘त्यसैले आलमको एकल नाम सिफारिस भएको हो ।’
कांग्रेसका जिल्ला सभापति जितेन्द्र यादवले क्षेत्रीय समितिले आलमको नाम सिफारिस गरेको भनिए पनि अहिलेसम्म जिल्लामा निर्णय सहितको फाइल नपठाएको बताए । आलमले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढ्दै स्थगित हुँदै आएको छ ।







