Logo

आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्यो: प्रधानमन्त्री



काठमाडौैँ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलाइने आवेग र क्षणिक उत्तेजनाले समाजलाई विकृत बनाउने खतरा रहेको बताएका छन् ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीयसभामा उनले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोग गर्नेभन्दा क्षणिक आवेगमा प्रयोग हुने गरेको बताए ।

“देशको समग्र राजनीति, आर्थिक विकासको प्रक्रिया विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ । मानिसमा विचार, सिद्धान्त, एजेन्डाभन्दा सेन्टिमेन्ट, क्षणिक आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो छ । यस्तो बेलामा बौद्धिक पक्षबाट हस्तक्षेप जरुरी छ”, प्रधानमन्त्री दाहालले भने, “अहिले वैचारिक बहसभन्दा सामाजिक सञ्जालतिर मानिसको ध्यान छ । त्यसले गर्दा मूलधारका मिडिया नै विस्थापित हुनेजस्तो देखिँदैछ । जसले हिजो लोकतन्त्रका निम्ति, राष्ट्रिय स्वाधिनताका निम्ति लामो भूमिका खेले तिनलाई नै पछि पार्ने गरी विस्थापित गर्ने गरी अराजकता पैदा गर्दैछ । यसमा वौद्धिक वर्गले ध्यान दिनु जरुरी छ ।”

अप्रिल २२ कम्युनिष्ट आन्दोलनको परिचर्चा गर्ने दिन भएको बताउदै प्रधानमन्त्री दाहालले विगतका कमी-कमजोरीको समीक्षा गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई सही नीति, विधिअनुरुप छिट्टै ध्रुवीकरण गर्ने दिशामा लाग्नुपर्ने बताए । उनले कम्युनिष्ट आन्दोलन अझै पनि जनतामा लोकप्रिय भएको बताउँदै सिद्धान्तनिष्ठ एकता आवश्यक भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्