Logo

इंग्ल्यान्डविरुद्ध मैदानमा उत्रँदै नेपाल, नयाँ इतिहासको खोजी



काठमाडौं, २५ माघ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज इंग्ल्यान्डविरुद्ध खेल्दै नयाँ अभियानको सुरुवात गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

दोस्रो पटक टी–२० विश्वकपमा सहभागी भएको नेपाल यसपटक बलियो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रँदैछ। सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपालले त्यसपछि १० वर्षको अन्तरालपछि पुनः विश्वकपमा स्थान सुरक्षित गरेको हो। सन् २०२४ को संस्करणमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै नेपालले विश्व क्रिकेटमा आफ्नो उपस्थिति दरिलो बनाएको थियो। दक्षिण अफ्रिकासँग नेपाल एक रनले मात्र पराजित भएको थियो।

लगातार रोहितकुमार पौडेलको कप्तानीमा नेपाल विश्वकप खेल्दैछ भने सोमपाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा इतिहास रचिसकेका छन्। यस संस्करणमा नेपालका सबै खेल मुम्बईकै वानखेडे रंगशालामा हुने तय भएको छ।

समूह ‘सी’ मा रहेको नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी वरीयताका आधारमा स्कटल्यान्डले समूहमा स्थान बनाएको हो।

विश्व विजेता इंग्ल्यान्डविरुद्धको पहिलो खेल नेपालका लागि ठूलो परीक्षा मात्र नभई सम्भावनाको ढोका पनि हो। समर्थकहरू नेपाली टोलीबाट उत्साहजनक सुरुवातको अपेक्षामा छन्।

प्रतिक्रिया दिनुहोस्