पाकिस्तान, १५ असोज । घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी-२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ ।
लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३-३ को बराबरी भएको छ । पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।
इङ्ग्ल्यान्डका फिल साल्टले अविजित ८८ रनको अर्धशतकीय पारी खेले । एलेक्स हेल्स २७ रनमा तथा डाविड मालन २६ रनमा आउट भए । बेन डुकेटले अविजित २६ रन जोडे ।
पाकिस्तानका शादब खानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहम्मद नवाजले १२ रन जोडेका थिए ।
इङ्ग्ल्यान्डका डेविड विलि र साम करणले २-२ विकेट लिए । इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको सातौँ तथा निर्णायक खेल भोलि हुनेछ ।