इङ्ल्यान्ड, २ साउन । भारतले घरेलु टोली इङ्ल्यान्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला जितेको छ ।
गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले श्रृङ्खला २-१ ले जितेको हो ।
इङ्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । भारतका लागि ऋषव पन्तले अविजित रहँदै १ सय २५ रनको शतकीय पारी खेले ।
यस्तै, हार्दिक पाण्डयले ७१ रनको अर्धशतकीय पारी खेले भने रोहित शर्मा र विराट कोहलीले समान १७ रन बनाए । यस्तै, सूर्यकुमार यादवले १६ रन बनाए । इङ्ल्यान्डका रिस टोप्लेले ३ तथा क्रेग ओभर्टन र ब्रेडन कार्सेले १-१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जोस बट्लरले ६० रनको अर्धशतकीय पारी खेले भने जासन रोयले ४१ रन बनाए । यस्तै, मोइन अलीले ३४, क्रेग ओभर्टनले ३२ रन तथा लियाम लिभिङस्टोन र बेन स्टोक्सले समान २७ रन जोडे ।
इङ्ल्यान्डका हार्दिक पाण्डयले ४ विकेट लिँदा युजभेन्द्र चाहलले ३ तथा मोहम्मद सिराजले २ विकेट लिएका थिए ।