इङ्ल्यान्ड, १३ साउन । इङ्ल्यान्डसँगको दोस्रो टी-२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ ।
कार्डिफमा गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएसँगै तीन खेलको शृङ्खला एक-एकको बराबरी भएको छ ।
दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर ४ बलमा १ सय ४९ रनमा अलआउट भयो । इङ्ल्यान्डका जोनी बेयस्ट्रोले ३० रन बनाए । कप्तान जोस बटलरले २९ तथा मोइन अलिले २८ रन जोडे । दक्षिण अफ्रिकाका ताब्रेज साम्सी र एन्डीलेले समान ३-३ विकेट लिएका थिए ।
लुङ्गी एनजिडीले २ तथा कागिसो रबडा र केशव महाराजले समान १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोली दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । उसका लागि राइली रुसो तथा रिजा हेन्ड्रिक्सले अर्धशतकीय पारी खेलेका थिए ।
रुसोले अविजित ९६ रन तथा हेन्ड्रिक्सले ५३ रन बनाए । इङ्ल्यान्डका रिचार्ड ग्लिसन, मोइन अलि र क्रिस जोर्डनले समान १-१ विकेट लिए । पहिलो खेलमा इङ्ल्यान्ड ४१ रनले विजयी भएको थियो ।